दिल्ली: भारतका चर्चित पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण भएका तेन्दुलकरले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत आफू अस्पताल भर्ना भएको जानकारी दिएका हुन्।

आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै उनले आफू चिकित्सकको सल्लाह बमोजिम अस्पताल भर्ना भएको र केही दिनमै निको भएर घर फर्कने आशा व्यक्त गरेका छन्।
‘मेरो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद। चिकित्सकको चिकित्सा सल्लाह अनुसार मलाई अस्पतालमा भर्ना गरिएको छ। म केही दिनमा घर फर्कने आशा गर्दछु। तपार्यं सबैले आफ्नो ख्याल राख्नुहोस् र सुरक्षित रहनुहोस्’, सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्।
उनले आफ्नो स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे केही उल्लेख गरेका छैनन्।
तेन्दुलकरलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी घरमै आइसोलेसनमा बसेका थिए।
