कस्तो हुन्छ अस्थाई लाइसेन्स ?

अस्थाइ लाइसेन्स स्मार्ट लाइसेन्स नआउन्जेलको लागी प्रयोग गर्न सकिन्छ । अस्थाइ लाइसेन्स हाल पाइने गरेको रसिद भन्दा प्रभावकारी हुन्छ ।
निर्देशक डङ्गोलका अनुसार विद्यार्थी आईडि कार्ड जस्तै देखिने छ । तर, त्यसमा क्युआर कोर्ड राखिने छ । कार्डको बाहिरी भागमा ट्रायल पास गरेको सेवाग्राहीको नाम थर ठेगाना र नम्बर हुने छ भने क्युआर कोडमा ट्रायल पास भए नभएको लगायतका जानकारी हुने छ ।
जसको पहुँच ट्राफिक प्रहरीलाई मात्रै हुन्छ । सोहि क्युआर कोडको प्रयोग गरेर ट्राफिकले अनुगमन र कारवाही गर्ने छ । उक्त कार्ड सक्कली अथवा नक्कली हो क्युआर कोड मार्फत हेर्न सकिन्छ ।
यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स नआउन्जेल अर्थात एक बर्षसम्म उक्त कार्ड चलाउन पाउने गरी यस्तो अवधारणा ल्याएको हो ।
कोरोना भाइरसपछि लामो समय ट्रायल परिक्षा दिन नसकेका सेवाग्राही एकैचोटी आएकाले चाप थेग्न नसक्ने अवस्था आएको छ भने स्मार्ट लाइसेन्सको पनि अभाव छ । अहिले अत्यावश्यकलाई मात्रै स्मार्ट कार्ड यातायात व्यवस्था विभागले बाँडिरहेको छ ।
अहिले लाइसेन्स आवेदन दिएको एक बर्षपछि मात्रै ट्रायलको पालो आउने गरेको छ । अहिले झन्डै १५ लाख ग्राहकले लाइसेन्स आवेदन दिएका छन् । स्मार्ट कार्डको अभावले लाइसेन्समा पनि समय लाग्ने भएकाले स्मार्टलाइसेन्स अभावको तत्कालको समस्यालाई समाधान गर्न अस्थाई लाइसेन्स पद्धती अपनाउन लागिएको हो ।
हाल विभागले १४ लाख स्मार्ट कार्डको लागी बोलपत्र आह्वान गरेको छ । यसअघि यातायात कार्यालयहरुले अस्थाई लाइसेन्सको रुपमा राजस्व बापत तिरके रसिद नै रहदै आएको छ । निर्देशक पवित्र डङ्गोल भन्छन ‘यस्तो प्रकारको कार्ड भएपछि मानिसले स्मार्टलाईसेन्स जसरी नै जतन गरेर राख्छन।’
सेवाग्राहीले जहाँबाट ट्रायल पास भएको छ त्यहि यातायात कार्यालयबाट उक्त अस्थाइ लाइसेन्स छपाइ हुने छ ।
खर्च धेरै नलाग्ने, कम समयमा नै धेरै कार्ड बनाउन सकिने भएकाले यातायात कार्यालयहरुलाई नै अस्थाई कार्ड वितरण गर्ने जिम्मा दिइने भएको हो ।
हाल यातायात व्यवस्था विभागले यातायात कार्यालयहरु तथा ट्राफिक प्रहरीसँग छलफल गरिरहेको छ ।
