महोत्तरी: महोत्तरीमा मंगलबारदेखि हराइरहेका सात बालिका तथा किशोरी भारतमा फेला परेका छन्। महोत्तरी, भंगाहाका सात बालिका तथा किशोरी विहारको सीतामढी पुगेको खबर आएको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए।

उनीहरू सीतामढी पुगेको खबर आएको उनको भनाइ छ। सबै किशोरी सकुशल रहेको सीतामाढीको प्रहरीले खबर गरेको उनले बताए। ‘आज बिहान सीतामढी प्रहरीले नेपाल प्रहरीलाई खबर गरी उनीहरुको अबस्था बताएको रहेछ,’ उनले भने, उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ।’
नेपाल प्रहरीले स्थानीय प्रहरीको सहकार्यमा उनीहरुलाई ल्याउने तयारी गरिएको उनको भनाइ छ।
धर्मपुरको दलित बस्तीका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन भएका थिए।
