झापा । विगत आठ दिनदेखि मकैबारीमा बसेर नोक्सान गरिरहेका सात जङ्गली हात्तीका कारण झापा गाउँपालिका–५ का बासिन्दा आतङ्कित भएका छन् ।

मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतङ्कित भएका हुन् । डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले घना मकैबारी बीचमा सातवटा हात्ती बसेकाले लखेट्न समस्या भइरहेको बताए । उनले स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले नजिकै रहेको जलथल जङ्गलतिर लखेट्न खोजिरहेको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष जयनारायण साहले हालसम्म सुत्ला च्यापिसकेको अनुमानित ३० बिघा बढीको मकै हात्तीले क्षति गरिसकेको बताए । थप क्षति हुने काम भइरहेको छ । सो क्षेत्रमा एक हजार हेक्टर भन्दा बढी क्षेत्रमा किसानले मकैखेती गरेको उनले बताए ।
उनले हालसम्म कति किसानले लगाएको मकै नष्ट भयो भनेर विवरण सङ्कलन गर्न नसकिएको बताए । एक हप्तादेखि बसेका हात्ती लखेट्न नसक्दा क्षतिको विवरण यकिन गर्न नसकिएको उनको भनाइ छ । उनले डिभिजन वन कार्यालय, प्रहरी र गाउँपालिका स्वयम् हात्ती खेद्न लागि परे पनि नसकिरहेको जानकारी दिए ।
