कसरी फस्छन् सोझा लगानीकर्ता ?

अलि बाठा लगानीकर्ताहरूको सीधै कम्पनीको सञ्चालक समिति वा उच्च व्यवस्थापनमै पहुँच हुन्छ । जसले गर्दा कम्पनीले गर्ने महत्वपूर्ण निर्णय उनीहरूले अन्य सर्वसाधारणले भन्दा पहिले नै जानकारी पाउँछन् ।
मानौं कुनै कम्पनीले निकै आकर्षक लाभांश दिने निर्णय गर्दैछ भने पहुँच भएकाहरूले पहिले नै जानकारी पाउँछन् र सेयर किन्छन् ।
जब सामान्य लगानीकर्तासम्म यो जानकारी पुग्छ, त्यतिबेलासम्म बाठा लगानीकर्ताले नाफा बुक गरेर बेच्न तयार भइसकेका हुन्छन् ।
अर्को गलत सूचनाको हल्ला फैलाएर पनि बाठा लगानीकर्ताहरूले आफू कमाउने र अरूलाई डुबाउने गर्छन् ।
महिना दिन अगाडि नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मा यस्तै भयो । एकाएक बैंकको सेयर मूल्य बढ्यो । जबकि, त्यसबेला एनसीसी बैंकमा मूल्य बढ्ने किसिमका केही सूचना थिएनन् ।
नेप्सेका एक अधिकारी सेयर मूल्य बढाउनकै लागि केही ठूला लगानीकर्ताहरूले मर्जर सम्बन्धी हल्ला फैलाएको बताउँछन् । यो घटनापछि नेप्सेले बैंकलाई स्पष्टीकरण सोध्यो ।
बैंकले लाभांश यसअघि नै घोषणा गरिसकेको र मर्जर सम्बन्धी कुनै निर्णय भइनसकेको भन्दै नेप्सेलाई स्पष्टीकरण बुझायो ।
नेप्सेले स्पष्टीकरण सोध्नु अगाडिसम्म ३६४ रुपैयाँमा पुगेको एनसीसी बैंकको सेयर मूल्य त्यसपछि भने घट्न थाल्यो । त्यसपछि ३६४ बाट घटेर १५ दिन अगाडि बैंकको सेयर मूल्य ३११ मा झरेको थियो ।
जनउत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि अघिल्लो महिना इन्साइडर ट्रेडिङबाटै बढाइएको धितोपत्र बोर्डका अधिकारीले बताए । तर यथेष्ट प्रमाण भेट्न नसकिने भएका कारण कारबाही गर्न नसकिएको ती अधिकारी बताउँछन् ।
यस कम्पनीको सेयर मूल्य ३ जनवरीमा १८२० रुपैयाँ थियो । यसको सेयर मूल्य लगातार बढिरहेको थियो । जनवरी ३१ सम्म आइपुग्दा २६६६ रुपैयाँ पुगेको यसको सेयर मूल्य भोलिपल्टै (१ फेब्रुअरी) १४९ रुपैयाँले बढेर २८१५ रुपैयाँ पुग्यो ।
सोही दिन संस्थाको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई ४९.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६० प्रतिशत नगद गरी ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय ग¥यो ।
साँच्चिकै अनुसन्धान गर्ने हो भने इन्साइडर ट्रेडिङ पत्ता लगाउन सकिन्छ ।
तर कानून नै नभएका कारण यसमा केही गर्न नसकिएको नेपाल स्टक एक्सचेञ्जका कार्यकारी प्रमुख चन्द्रसिंह साउद बताउँछन् । ‘यस सम्बन्धी कानून धितोपत्र बोर्डले ड्राफ्ट गरेको भन्ने सुनेको छु, तर त्यो ऐन बनिसकेको छैन’ उनले भने, ‘कानून नै नभएपछि कारबाही गर्न सहज हुने कुरै भएन ।’
अस्वाभाविक रूपले सेयर मूल्यमा प्रभाव परेको महसूस भए नेप्सेले स्पष्टीकरण सोधे पनि त्यसको ‘जिस्ट रुल’ भने नभएको साउदले बताए ।
कतिपय देशहरूमा इन्साइडर ट्रेडिङ गरेको अभियोगमा आर्थिक पत्रकारहरूलाई समेत कारबाही हुने गरेको भन्दै उनले पूँजी बजारबारे लेख्ने पत्रकारले लगानी गर्नै नपाउनुपर्ने बताए ।
भारतमै पनि सूचना चुहावट गरे पत्रकारलाई समेत कारबाही हुने सीईओ साउदले बताए ।
