काठमाडाैं: गुगल म्यापमा नेपालको नयाँ नक्सा समावेश भएको देखिएको छ। गत वर्ष नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले समावेश गरेको हो। गुगलले नेपालले नयाँ नक्सामा दावी गरेको भू–भागलाई टुक्रे धर्काद्वारा देखाएको छ।

सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो। उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित भएको थियो।
यसअघि उक्त क्षेत्र भारतले अतिक्रमण गरेको थियो। नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर रहेको छ।
भारत सरकारले २०७६ कार्तिक १६ गते जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी–लिपुलेक पश्चिमका नेपाली भू–भाग समेत समेटेको थियो। नेपालले उक्त नक्सालाई अस्वीकार गर्दै नयाँ नक्सा जारी गरेको हो।
नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण हुनु पर्नेमा अहिलेसम्म भएको देखिँदैन। नेपालले पनि भारसँगको उक्त सीमाविवादलाई आपसी संवाद र सहमतिबाटै हल गर्ने भनेर अहिलेसम्म अन्तर्राष्ट्रियकरण गरेको छैन।
नेपालले संसदका लागि पटकपटक पहल गरे पनि भारत त्यसका लागि तयार भएको देखिँदैन्। गुगलले नेपालको नयाँ नक्सालाई समावेश गरेपछि अब यसलाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुने बताइएको छ।
