एजेन्सी: उत्तर कोरियाले बिहीबार सी अफ जापानमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको अमेरिका तथा जापानका अधिकारीहरुले बताएका छन् ।

जो बाइडेन अमेरिकामा राष्ट्रपति भएपछि उत्तर कोरियाले पहिलो पटक गरेको मिसाइल प्रक्षेपण अमेरिकालाई उत्तेजित गर्न चालिएको कदमका रुपमा विश्लेषण गरिएको छ ।
प्रक्षेपण गरिएको मिसाइललाई सुरुमा जापानले ब्यालेस्टिक मिसाइल रहेको पहिचान गरेको थियो ।दक्षिण कोरियाले पनि सो मिसाइलहरु ब्यालेस्टिक नै रहेको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
उत्तर कोरियाको हतियार परीक्षण अमेरिकी राष्ट्रपतिहरुका लागि चुनौती बन्दै आएको छ । प्रत्येकले विभिन्न कार्यक्रम तथा प्रस्तावका साथ उत्तर कोरियासँग सो विषयमा वार्ता गर्न खोजे पनि सफल भएका छैनन् ।

