स्याङ्जा: ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई स्याङ्जामा कालीगण्डकी नदीमा फालिएकाे छ । कालीगण्डकीमा फालिएका सहचालकको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

चैत ५ गते राति १० बजे ढुंगा बोकेर फर्किएको ट्याक्टरका चालक र सहचालकले बीच बाटोमा मदिरा सेवन गरेको र अघि बढ्ने क्रममा सहचालक खसेर घाइते भएपछि सोही ट्याक्टरमा राखेर कालीगण्डकी नदीमा फालेर चालक र अर्का सहचालक फरार भएका थिए ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होविन्द्र बोगटीले बाटोमा ट्याक्टर छाडेर सबै फरार भएपछि खोजबिन सुरू भएको जानकारी दिए ।
उनले भने, “ट्याक्टरमा ढुंगा बोकेर फर्किँदै गर्दै बाटोमा राति रक्सी खाएर ट्याक्टर लिएर हिँडेछन् ।बीचबाटोमा पुग्दा सहचालक गणेश गाहा खसेर घाइते भए । उनलाई त्यही ट्याक्टरमा लगेर कालीगण्डकीमा फालिदिएछन् ।”पछि खोजबिन गर्ने क्रममा अर्का सहचालक सुनील राना पाल्पास्थित घरमा पुगेको र पाल्पा प्रहरीको सहायतामा उनलाई पक्राउ गरिएको जानकारी दिए ।
ढिलागरी खबर प्राप्त भएको हुँदा हिजोदेखि नै गोताखोरको टोलीले शव खोजबिन गरेको थियो ।आज बिहानमात्रै कालीगण्डकी नदीमा गाहाको शव फेला परेकाले प्रहरी अहिले घटनास्थलतर्फ जाँदै गरेको बोगटीले जानकारी दिए ।
ट्याक्टरका चालक अमित परियार भने अहिलेसम्म फरार रहेका छन् ।उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका रानाले घटनाका बारेमा बताएका थिए ।उनले घाइते गाहालाई कालीगण्डकी नदीमा फालेको बयान दिएको बोगटीले जानकारी दिए ।
