राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका सिलसिलामा सोमबार बंगलादेशको राजधानी ढाका पुगेकी छन्। बंगलादेश स्वतन्त्रताको स्वर्णजयन्ती तथा राष्ट्रपिता बंगबन्धु शेख मुजिवर रहमानको जन्म शताब्दीका अवसरमा सहभागी हुन उनी सोमबार बिहान ढाका पुगेकी हुन्।

राष्ट्रपति भण्डारीलाई बंगलादेशका समकक्षी मोहम्मद अब्दुल अमिदले हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भण्डारीलाई कोभिड–१९ सुरक्षा मापदण्ड पालना गर्दै स्वागत गरिएको थियो। उनको सम्मानमा बंगलादेशको सेना, नेभी फोर्स र एयर फोर्सले संयुक्तरूपमा २१ तोपको सलामी दिएका थिए।

राष्ट्रपति भण्डारीले सोमबार नै राष्ट्रिय स्मारकमा पुगेर बंगलादेशको स्वतन्त्रताका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति सम्मान व्यक्त गर्दै त्यहाँ राखिएको भ्रमण पुस्तिकामा सहिदहरूको सम्झना र सम्मानमा केही शब्द लेख्दै हस्ताक्षर गरेकी थिइन्। त्यस क्रममा उनले नेपाल बंगलादेशलाई स्वतन्त्र मुलुकको मान्यता दिने सातौं मुलुक रहेको भन्दै खुसी व्यक्त गरेकी थिइन्।

राष्ट्रपति भण्डारीसँग सोमबार नै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेट गरेकी छन्। भेटमा दुईपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।    —–आजको नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *