काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका लागि आज त्यसतर्फ जानुहुने भएको छ । राष्ट्रपति भण्डारी आफ्ना बङ्गलादेशी समकक्षी मो. अब्दुल हमिदको औपचारिक निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा बङ्गलादेश जान लाग्नुभएको हो ।
राष्ट्रपति भण्डारी नेपाल वायुसेवा निगमको विशेष चार्टर्ड विमान आरए ००१ मार्फत सोमबार बिहान ८ बजेर ४० मिनेटमा बङ्गलादेश प्रस्थान गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलाई राजकीय सम्मानका साथ बिदाइ गर्ने तयारी सरकारले गरेको छ । बङ्गलादेशस्थित नेपालका राजदूत डा.वंंशीधर मिश्रका अनुसार गणतन्त्र नेपालको राष्ट्रपति स्तरको पहिलो भ्रमण भएकाले बङ्गलादेशमा भव्य स्वागतको तयारी भएको छ।


