डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। डडेल्धुरा सदरमुकामदेखि अजयमेरु जाँदै गरेको सु.प.प्र ०१–००१ ज ११६५ नम्बरको जिप शुक्रबार बेलुकी अजयमेरु गाउँपालिका–३ बुल्कुडामा दुर्घटना भएको हो।

प्रहरीका अनुसार जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा जनाएको छ। उनीहरुलाई थप उपचारको लागि धनगढी र नेपालगञ्ज रेफर गरिएको छ।

टाउकोमा चोट लागेर घाइते भएका अजयमेरु–३ का ३५ वर्षीय राजेन्द्र पाण्डे, ३० वर्षीया सीता पाण्डे, २२ वर्षीया जयन्ती पाण्डे र ५२ वर्षीय बलबहादुर पाण्डेलाई धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

जयन्तीको ढाडमा पनि समस्या देखा परेकाले धनगढीबाट थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। सामान्य घाइते भएका बैतडीको दशरथचन्द नगरपालिका–३ का ३६ वर्षीय खेमराज भट्टको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *