काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। कमिटीको बैठकअघि संसदीय दलको बैठक बोलाइएको छ । बिहान १० बजेका लागि बोलाइएको संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तयारी छ ।

माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा नजाने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि बोलाउनुभएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल-खनाल समूह गएको थिएन । ओलीको कार्यशैलीको विरोध गर्दै उनीहरुले छुट्टै बैठक र भेला गर्दै आएका छन् ।
उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने नेपाल–खनाल समूहको भनाइ छ ।
