काठमाडौं । घरेलु टिम भारतले टि-२० क्रिकेट सिरिजको चौथो खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ । भारतले बिहीबार राति भएको खेलमा इंग्ल्यान्डलाई आठ रनले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । भारतका सुर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक रन बनाए । उनले ३१ बलमा ५७ रन बनाउँदा श्रेयस ऐयरले ३७ र रिषभ पन्तले ३० रन बनाए । बलिङतर्फ जोफ्रा आर्चरले चार विकेट लिए ।
नरेन्द्र मोदी रंगशालामा १८६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७७ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डका बेन स्टोक्सले विष्फोटक ब्याटिङ गर्दै ४६ रन बनाएपनि जित दिलाउन सकेनन् ।
उनले २३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४६ रन बनाएका थिए। त्यस्तै, ज्यासन रोयले ४० रन बनाए । बलिङतर्फ शार्दुल ठाकुरले तीन विकेट लिदा राहुल चाहार र हार्दिक पाण्ड्याले समान २-२ विकेट लिए ।
यो जितसँगै भारतले ५ खेलको टि-२० क्रिकेट सिरिजमा २-२ को बराबरी बनाएको छ । अब शनिबार हुने अन्तिम खेलले सिरिजको टुंगो लाग्नेछ ।

