सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषयमा नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा तत्कालै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने परिस्थिति नबनेको बताउँदै आइरहेका छन् । कांग्रेस महामन्त्री डा. शशांक कोइराला भने केही दिनभित्रै कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् ।
सभापति देउवा स्थिति परिपक्व बनेपछि मात्र सरकारको नेतृत्व गर्ने बताइरहँदा महामन्त्री कोइरालाले भने हप्ता १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् ।
कोइरालाले बिहीबार विराटनगरमा सञ्चारकमीसँगको कुराकानीका क्रममा केही दिनमा नै ओलीविरुद्ध अविश्वास प्रस्तावअघि बढ्ने र कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने दाबी गरेका हुन् ।
तर, कांग्रेस सभापति देउवाले भने सरकारको नेतृत्व गर्ने परिपक्व वातावरण नबनेको बताउँदै आइरहेका छन् । उनले विकसित राजनीतिक अवस्थामा सुरुदेखि नै सो धारणा राख्दै आइरहेका हुन् । -आजको”राजधानी दैनिक”बाट
