चितवन । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक अभाव भएसँगै कामको गतिलाई सोचे अनुरुप अघि बढाउन नसकिएको निर्माण पक्षले बताएको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेसनले रंगशालामा तिर्नुपर्ने बाँकी बक्यौता रकम अधिक भएको, सोचेजस्तो गरी रकम संकलन नभएको, विभिन्न समयमा रकम दिने प्रतिवद्धता गरेकाहरूले रकम नदिएको तथा सरकारी निकायबाट गर्ने भनिएको सहयोग पनि नपाएकोले रंगशालाको कामलाई गति दिन समस्या भएको बताउँदै आएको छ । अहिले पनि करिब १२ करोड रुपैयाँ रंगशाला बनाउँदा ल्याएको सामानको भुक्तानी दिन बाँकी छ ।
रंगशालाको करिब ३५ प्रतिशत काम सम्पन्न भइसकेको फाउण्डेसनको दाबी छ । रंगशालाको प्याराफिट ‘ए’ को पिल्लर भर्ने, प्याराफिटको पहिलो तह तयार गर्ने काम सुरु भइसकेको छ भने, प्याराफिट ‘बी’ को पनि पिल्लर उठाएर भर्ने काम चलिरहेको छ । भीआइपी प्याराफिट र मैदान सम्याउने काम बाँकी छ । मैदानका लागि आवश्यक माटो पनि ल्याइसकिएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ले जानकारी दिए ।
रकमका कारण निर्माणमा सुस्तता नआओस् भनेर धुर्मुस सुन्तली फाउण्डेसनले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियानको नयाँ ‘कन्सेप्ट’ सुरु गरेको छ । रंगशालामा रहने ३० हजार कुर्सीहरु विभिन्न व्यक्ति तथा संस्थाहरुले आ–आफ्नो नाममा राख्न पाउँछन् । पछिल्लो समय रंगशाला निर्माणका लागि आर्थिक संकट बढ्दै जान थालेपछि फाउण्डेसनले यस अभियानको सुुरुवात गरेको हो । फाउण्डेसनले यस अभियानबाट ३० हजारले कुर्सीमा नाम राखे ३ अर्ब संकलन हुने अनुमान गरेको छ । अहिलेसम्म १५ वटा कुर्सी विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले बुक गरिसकेका छन् ।
के हो कुर्सी अभियान ?
रंगशाला निर्माणमा सहज आर्थिक संकलन होस् भनेर ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अभियान सुरु गरिएको हो । रंगशालामा सबैको अपनत्व होस् भनेर यस्तो अभियान थालिएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलको दाबी छ ।
रंगशालामा रहने ३० हजार कुर्सीमध्ये एउटा कुर्सीमा आफ्नो नाम वा परिवारको सदस्यको नाम, पितृको स्मृति, कुलदेवता, साथीभाइ, उद्योग, कम्पनी, सहकारी, बैंक तथा वित्तीय क्षेत्र, आमा समूह, सामुदायिक संघसंस्था, अस्पतालहरूले रोजेर आफ्नो नाम लेखाउन सक्छन् । एउटा कुर्सीमा नाम लेखे वापत एक लाख रुपैयाँ दिनुपर्ने हुन्छ । चलचित्रको हलमा सुरुमा जानेले रोजेर टिकट लिएको जस्तै गरी यहाँ पनि रोजेर सिट बुक गर्न मिल्ने सफ्टवेयरको विकास गरिने कट्टेलले बताए । ‘बुक गरिसकिएको सिट अर्कोले फेरि बुक गर्न मिल्दैन, त्यो सबै सफ्टवेयरमा देखाउँछ’ कट्टेलले भने, ‘जति चाँडो बुक ग¥यो उसलाई उति नै बढी छान्ने अवसर हुन्छ ।’
एक लाख रकम तिरेपछि सम्बन्धित व्यक्ति वा संघसंस्थाका प्रतिनिधिले रंगशालामा आफ्नो कुर्सीमा बसेर निःशुल्क खेल हेर्न पाउनेछन् । रंगशालामा ७७ जिल्लाका आ–आफ्ना कोठाहरू हुन्छन् । हरेक जिल्लाको नक्सा, धार्मिक सांस्कृतिक सांस्कृतिक सम्पदाका चित्रहरु, जानकारीमूलक विवरण त्यहाँ राखिनेछ । सिंगो नेपालको चित्र रंगशालामा देखिने फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए । सम्बन्धित जिल्लाबाट सहयोग गर्नेहरुको नाम सोही जिल्लाको कक्षमा रहन्छ ।
‘एक लाख रकमले निश्चित अवधिसम्म त्यस समयको खेलको टिकटको रकमको आधारमा कुर्सी उहाँहरुकै हुन्छ, त्यसपछि भने नवीकरण गर्नुपर्ने हुन्छ’ फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, ‘हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय खेल सुरु हुनु अघि कुर्सी लिने दातालाई सिष्टमबाट नै सोधिनेछ ।’ कुर्सी अभियानमा सहभागी भएका परिवारका सदस्य कतिजना वा संस्थाका कतिजनासम्मलाई के कसरी खेल हेर्न दिने भन्ने बारेमा नियमावलीमा विस्तृत रुपमा राखिने कट्टेलले बताए । एक महिनामा अनलाइन एप्सबाटै कुर्सी बुकिङ गर्न सकिने उनले बताए । प्याराफिट ‘ए’ मा १५ हजार र ‘बी’ मा १५ हजार कुर्सी रहनेछन् ।
‘कुर्सी बेच्न लागेको हैन, रंगशालामा जोड्न खोजेको हो’
विभिन्न अभियानमार्फत रंगशालामा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ कुर्सी अभियान चलाइएको फाउण्डेसनका अध्यक्ष सतिाराम कट्टेलले बताए । रंगशालामा रहने कुर्सी बेच्न थाल्यो भन्ने आरोपमा कुनै सत्यता नभएको उनको भनाइ छ ।
‘कुर्सी बेच्ने हैन, सद्भाव बाँड्ने अभियान हो, रंगशालामा सबैलाई जोड्ने र खासमा जनस्तरबाट बनेको रंगशाला भन्न यस्तो अभियान चलाइएको हो’ कट्टेलले भने, ‘फरक अभियानबाट रंगशालामा आर्थिक सहयोग जुटाउन खोजिएको हो ।’ उनले रंगशालामा आर्थिक सहयोग गर्ने सबैको नाम डिजिटल डिस्प्लेबाट सार्वजनिक गरिने बताए । ५० हजारभन्दा माथि सहयोग गर्नेको नाम शिलालेखमा रहने उनले बताए । ‘कुर्सीमा बुक गर्नेको मात्रै नाम हुने अरुको नहुने भन्ने हैन, जस–जसले रंगशाला बनाउन सहयोग गर्नुभएको छ, उहाँहरु सबैको नाम रंगशाला हुन्छ, यथोचित सम्मान दिन्छौं’ कट्टेलले भने, ‘कुर्सी अभियान त्यहींभित्रको फरक अभियान मात्रै हो ।’कुर्सी अभियानबाट अपेक्षित रकम संकलन गर्न सके अबको १८ महिनाभित्र रंगशाला निर्माणको काम सम्पन्न हुने फाउण्डेसनको दाबी छ ।
