कास्की: प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटना हुँदा एक नेपाली सैनिककाे मृत्यु भएको छ । पोखरामा सेनाले सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको मृत्यु भएकाे हाे ।

पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा-११ रानीपौवास्थित सैनिक अस्पताल पुर्याएकामा उपचारका क्रममा साँझ ४ः ४५ बजे निधन भएको हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।
