ईटाली:  कोरोना भाइरसको संक्रमण बढेपछि इटालीमा सोमबार पसल, रेस्टुरेन्ट र विद्यालयहरू बन्द गरिएको छ । प्रधानमन्त्री मारियो ड्रागीले भाइरस संक्रमणको नयाँ लहर आउन सक्ने भन्दै जनतालाई सचेत गराएका बीबीसीले जनाएका छन् ।

ड्रागीले इस्टरका बेला (अप्रिल ३ देखि ५ सम्म) देश पूर्ण रूपमा बन्द रहने घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण एक वर्षअघि देशव्यापी लकडाउन गरेको इटालीले फैलँदो संक्रमण रोक्न फेरि संघर्ष गरिरहेको छ । भाइरसका कारण यूकेपछि इटाली सबैभन्दा बढी प्रभावित युरोपेली देश हो ।

युरोपेली संघका कतिपय देशमा जस्तै इटालीमा पनि खोप अभियान सुस्त छ । खोप अभाव पूर्ति गर्न भन्दै गत साता इटाली सरकारले अक्सफोर्ड–अस्ट्राजेनेका खोपको २ लाख ५० हजार मात्र अस्ट्रेलिया निर्यात गर्न रोकेको थियो । तर शुक्रबार डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड र बुल्गेरियाले उक्त खोपले रगत जमाउने भन्दै अस्थायी रूपमा प्रयोग गर्न छाडेका छन् । विश्व स्वास्थ्य संगठनले भने रगत जम्ने कुरा पुष्टि हुने कुनै संकेत नमिलेको जनाएको छ ।

प्रधानमन्त्री ड्रागीका अनुसार इटालीका आधाभन्दा बढी क्षेत्रका विद्यालय, पसल र रेस्टुरेन्टहरू बन्द रहनेछन् । जनघनत्व बढी भएका रोम र मिलानमा पनि लकडाउन कडा पारिएको छ । मानिसहरूलाई काम, स्वास्थ्य र अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *