काठमाण्डौ: विश्वव्यापी रूपमा करोडौँ मानिसले कोरोना भाइरसविरुद्धको खोपका डोज प्राप्त गरेका छन् ।
कोभिडविरुद्धको खोप लगाएपछि खोप लगाएको ठाउँ (इन्जेक्सन साइट)मा दुखाइ हुने र छोटो अवधिका लागि फ्लुजस्तो लक्षण देखिने दुई सबैभन्दा सामान्य साइड इफेक्ट देखिएको पाइन्छ । तर, खोपले केही मानिसमा गम्भीर साइड इफेक्ट गर्ने हुँदा केहि मानिस अस्पताल भर्नासमेत हुनु परेको छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले खोप लगाएपछि इन्जेक्सन साइटमा दुखाइ, सुन्निने, ज्वरो, रुघा, टाउको दुखाइ र थकान गरी छ वटा साधारण साइड इफेक्ट सूची जारी गरेको थियो । तर, सिडिसीले अब उक्त सूचीमा तीन नयाँ साइड इफेक्टहरू थप गरेको छ । नयाँ साइड इफेक्टमा छालामा र्यासेज आउने, मांसपेसी दुख्ने र वाकवाकी लाग्ने लक्षण समावेश गरिएको छ ।
सिडीसीका अनुसार यी सामान्य साइड इफेक्ट समयसँगै हराएर जाने गर्छ । जसकारण मानिसहरूलाई खोप लिन डराउनु पर्दैन । खोप लगाएपछि साइड इफेक्ट देखिनुको सरल अर्थ खोपले काम गरिरहेको र शरीरले प्रतिरोधात्मक क्षमता विकास गर्दै छ भनेर बुझिन्छ । खोपको पहिलो डोज लिएको दुई हप्तापछि एन्टिबडी देखा पर्छ र खोपको दोस्रो डोज लिएको दुई सातापछि यसले भाइरसविरुद्ध पूर्ण सुरक्षा प्रदान गर्छ ।
तर, खोप लगाएपछि कुनै साइड इफेक्ट लामो समयसम्म रहिरहे वा दैनिक काममा यसले बाधा पुर्याएमा यसका बारेमा आफ्नो डाक्टरसँग परामर्श गर्नुपर्ने सिडीसीको सुझाव छ ।
